काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको हो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल बिलास इनमा घटना भएको थियो।
असम प्रहरीका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले बताएका छन्।
घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। प्रहरीका अनुसार घटनामा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो। प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको जनाएको छ।
घटना भएको होटल असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा रहेको छ। होटलको स्वामित्व र लिजमा सञ्चालन गर्ने विषयमा भएको विवादले हिंसात्मक रूप लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस