नेपाली कांग्रेसको इतर पक्षले सातवटै प्रदेशका २१ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ। १५औँ महाधिवेशनको तयारीमा जुटेको इतर पक्षले हालसम्म ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
तर, केही स्थानमा अधिवेशनमा सहभागी हुनेको संख्या न्यून रहेकाले समस्या देखिएको नेताहरूले बताएका छन्।
केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लासहित २१ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। उनका अनुसार कोसी प्रदेशको एक, कर्णालीका पाँच र सुदूरपश्चिमका नौ जिल्लालगायत २१ जिल्लामा अधिवेशन सकिएको छ।
बाह्रखरीसँग कुरा गर्दै पोखरेलले अहिले जारी क्षेत्रीय अधिवेशनमा सहभागिता उत्साहजनक रहेको बताए। संस्थापन पक्षबाट आउन चाहने नेता तथा कार्यकर्तालाई पनि नरोकिने उनको भनाइ छ।
‘वडा अधिवेशनबाटै सबै छनोट भइसकेको छ। अब अवसर पाउन त गाह्रो हुन्छ। तर, हामी रोक्दैनौँ। आउन चाहने आउन सक्नुहुन्छ,’ उनले भने।
कांग्रेस इतर पक्षको १५औँ महाधिवेशन तयारी समितिको पछिल्लो तथ्यांकअनुसार कोसी प्रदेशका १३७ पालिकामध्ये ८९, ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३४ र २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १७ वटामा अधिवेशन सम्पन्न भएको छ। प्रदेशका १४ जिल्लामध्ये एउटामा जिल्ला अधिवेशन सकिएको छ।
मधेस प्रदेशका १३६ पालिकामध्ये ५४, ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २६ र ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १३ वटामा अधिवेशन सम्पन्न भएको छ। मधेसका आठवटै जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ।
वाग्मती प्रदेशका ११९ पालिकामध्ये ५५, ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४० र ३३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २० वटामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
गण्डकी प्रदेशमा ३५ पालिका, १३ प्रदेशसभा निर्वाचन क्षेत्र र सात प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा ८६ पालिका, २४ प्रदेशसभा निर्वाचन क्षेत्र र १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको छ।
कर्णाली प्रदेशका ५५ पालिका, १४ प्रदेशसभा निर्वाचन क्षेत्र र सात प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ। यस प्रदेशका पाँच जिल्लामा जिल्ला अधिवेशनसमेत सकिएको समितिको तथ्यांक छ।
यस्तै, सुदूरपश्चिम प्रदेशका ६६ पालिका, १८ प्रदेशसभा निर्वाचन क्षेत्र र नौ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ। प्रदेशका नौ जिल्लामा जिल्ला अधिवेशन सकिएको समितिले जनाएको छ।
निर्वाचन समिति संयोजक पोखरेलका अनुसार गत शुक्रबार, कात्तिक ७ गतेदेखि नै १५औँ महाधिवेशन लक्षित बाँकी कार्यक्रम सुरु भइसकेका छन्।
इतर पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन, असोज २० गतेदेखि पालिका अधिवेशन र असोज २३ गतेदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। जिल्ला अधिवेशन कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, प्रदेश अधिवेशन मंसिर ४ गतेदेखि र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने घोषणा कांग्रेस इतर पक्षले यसअघि नै गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस