काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ। सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै उक्त पुल निर्माण गरिएको हो।
पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै सर्वसाधारणका लागि पुल खुला गर्ने तयारी भइरहेको छ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको पुल निर्माणका लागि दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो।
पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।
प्रतिक्रिया दिनुहोस