भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडित बचतकर्ताका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
आज चितवन पुगेकी मन्त्री रावलले भूमिहीन नागरिक तथा सहकारी पीडितसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या सुन्ने र सरकारले गरिरहेका काम तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्य रहेको बताइन्।
जनताको समस्या सुन्न मन्त्री नै घरदैलोमा पुग्नुपर्ने मान्यताअनुसार सरकारले नयाँ कार्यशैली अपनाएको उल्लेख गर्दै उनले भूमिसम्बन्धी समस्या समाधानका क्रममा देखिएका कानुनी जटिलता र नीतिगत अवरोध हटाउने काम अघि बढाइएको जानकारी दिइन्।
दसैँ–तिहारको बीचमा सकेसम्म काम अघि बढाउने र तिहारपछि देशभर अभियानलाई थप तीव्रता दिने सरकारको योजना रहेको उनले बताइन्।
‘हामीले सुरुवात गरेका हौँ, अब यसलाई तीव्रता दिने चरणमा प्रवेश गर्दैछौँ। भूमिहीनका समस्या समाधान गर्न आवश्यक नीतिगत सुधार गरिसकेका छौँ। आगामी दिनमा थप सुधार आवश्यक देखिए त्यसलाई पनि सच्याएर अगाडि बढ्छौँ,’ मन्त्री रावलले भनिन्।
उनका अनुसार नागरिकका थप गुनासा सुन्ने र समस्या समाधानको समयसीमाबारे जानकारी गराउने प्रयाससमेत गरिनेछ।
सहकारी पीडित बचतकर्तालाई न्याय दिलाउन सरकार सक्रिय रहेको उल्लेख गर्दै मन्त्री रावलले सहकारीसम्बन्धी केही कानुनी अस्पष्टता हटाउन अध्यादेश जारी गरिएको बताइन्। कसले के जिम्मेवारी निर्वाह गर्ने भन्ने विषय स्पष्ट पार्न आवश्यक सुधार अघि बढाइएको उनको भनाइ छ।
‘पीडितको हकमा उहाँहरूलाई जतिसक्दो चाँडो न्याय दिन सरकार तत्पर छ। नीति खराब भए नीति सच्याउनुपर्छ र नियत खराब भए त्यसलाई पनि गम्भीर रूपमा लिनुपर्छ,’ उनले भनिन्।
मन्त्री रावलले चितवनसहित देशभरिका भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधानलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस