रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्।
स्रोतका अनुसार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्ती तथा विभिन्न संरचनामा क्षति पुर्याएको छ। बाढीका बेला ड्युटीमा खटिएका सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) का इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका हुन्।
बीओपीमा भने बाढीले क्षति नपुर्याएको बताइएको छ। बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित अवस्थामा रहेको स्रोतले जनाएको छ। बाँकी ९ जना ड्युटीमा खटिएका बेला सम्पर्कविहीन भएका हुन्।
यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले आवश्यक प्रयास गरिरहेको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस