ललितपुर । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा हुने सम्भावना बढेपछि ललितपुरको बुङमतीका किसान धान काट्न र सुकाउन व्यस्त भएका छन्।
वर्षाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने भन्दै किसानले खेतबाट धान काट्ने, झार्ने, निफन्ने र सुकाउने कामलाई तीव्रता दिएका हुन्।
बुङमतीकी किसान दिव्या तुलाधरका अनुसार ताइचिन धान राम्रोसँग सुकाउन १० दिनभन्दा बढी घाम आवश्यक पर्छ। खलमा सुकाएको धानलाई घरभित्र लैजाने र फेरि सुकाउनेभन्दा खलमै पालले छोपेर सुरक्षित राख्ने गरिन्छ।
‘लगातार वर्षा भए काटेर सुकाउन राखिएको धान भिज्छ। लामो समयसम्म ओसिलो रहँदा धान उम्रिन सक्छ। त्यसैले काटेर सुकाउन राखिहालेको छु,’ उनले भनिन्, ‘भिजेर उम्रियो भने वर्षभरि गरेको मेहनत खेर जान्छ।’
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभावले अक्टोबर २९ देखि नोभेम्बर १ सम्म देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ।
महाशाखाका अनुसार अक्टोबर ३० र ३१ मा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्नेछ। केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
सम्भावित मौसम जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानलगायतका कृषि उपज सुरक्षित गर्न र मौसमसम्बन्धी आधिकारिक सूचना पछ्याउन आग्रह गरिएको छ।
धान काट्ने, सुकाउने र भित्र्याउने समयमा वर्षा हुँदा किसानको उत्पादन तथा आम्दानीमा ठूलो असर पर्ने गरेको छ। विगतका वर्षमा पनि कैलाली, बर्दिया, सल्यान र दाङलगायतका जिल्लामा वर्षा तथा हावाहुरीका कारण धान र अन्य कृषि उपजमा क्षति पुगेको थियो। कैलालीमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेर उम्रिँदा नष्ट भएको घटना पनि सार्वजनिक भएको थियो।
प्रतिक्रिया दिनुहोस