रसुवा–भोटेकोसी विपद्बाट भएको क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानअनुसार ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ।
तर, प्रारम्भिक पुनर्स्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्यांकन गर्दा आवश्यक रकम प्रारम्भिक अनुमानभन्दा अझ बढी हुन सक्ने बताए।
बुधबार सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले गैरआर्थिक क्षतिसहितको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिए।
“विपद्पछिको प्रारम्भिक पुनर्स्थापनाका लागि आवश्यक ५७ मिलियन डलर तत्काल जुटाउन सरकारलाई चुनौती छ,” ढकालले भने।
सरकारले आवश्यक सबै रकम एकैपटक जुटाउन सक्ने अवस्था नरहेकाले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरिएको उनले बताए।
यसैबीच, लस एन्ड ड्यामेज फन्डको बैठकले नेपाललाई प्रस्ताव पेस गर्न २० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेको छ। उक्त रकमका लागि १.६ मिलियन डलर व्यवस्थापन खर्च छुट्याइएको जानकारी पनि ढकालले दिए।
फन्डको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रस्ताव तयार गरी पेस गर्ने उनले बताए। प्रस्ताव जति छिटो पेस गर्न सकियो, स्वीकृति तथा कार्यान्वयन प्रक्रिया पनि त्यति नै छिटो अघि बढ्ने उनको भनाइ छ।
प्रस्ताव स्वीकृतिका लागि दुईवटा सम्भावित समयसीमा रहेको उनले जानकारी दिए। प्रस्ताव आगामी डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फन्डको बोर्ड बैठकमा पेस गर्न सकिनेछ।
आवश्यक तथ्यांक संकलन, प्रमाणीकरण तथा समीक्षा गर्न समय लागेमा भने मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुने बोर्ड बैठकसम्म निर्णय हुन सक्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस