बंगालको खाडीमा विकसित हुन सक्ने चक्रवात अर्णबको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतको ओडिशा सरकारले तयारी तीव्र बनाएको छ। सरकारले सम्बन्धित सबै विभागलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बंगालको खाडीमा चक्रवाती आँधी विकसित हुने र अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ।
सम्भावित जोखिम न्यूनीकरण गर्न ओडिशा सरकारले जनधनको क्षति रोक्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।
मुख्यमन्त्री मोहन चरण माझीले चक्रवातको सम्भावित प्रभाव र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे समीक्षा बैठक गरिएको बताएका छन्।
उनका अनुसार मौसम विभागले अक्टोबर २८ को दिउँसो उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटीय क्षेत्रको आसपास चक्रवातले जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरेको छ। यसका कारण दुवै राज्यका विभिन्न जिल्लामा भारी वर्षा हुन सक्ने सम्भावना छ।
मुख्यमन्त्री माझीले सबै विभागलाई जिम्मेवारी तोकिएको र समयमै आवश्यक तयारी पूरा गर्न निर्देशन दिइएको बताएका छन्।
यसैबीच, तमिलनाडुमा उत्तरपूर्वी मनसुन सक्रिय रहेको छ। पछिल्लो २४ घण्टामा राज्यका अधिकांश क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ। पुडुचेरी र कराइकलमा पनि वर्षा भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस