युद्धविराम सम्झौता भंग भएपछि अमेरिकाले इरानमाथि लगातार ११औँ रात पनि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले मंगलबार रातिदेखि बुधबार बिहानसम्म इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनालाई लक्षित गरी नयाँ चरणको आक्रमण गरेको हो।
अमेरिकी केन्द्रीय कमान्ड—सेन्टकमले पछिल्लो आक्रमणमा इरानी सैन्य सञ्चालन केन्द्र, समुद्री सैन्य क्षमता, विमान ह्याङ्गर, ड्रोन भण्डारणस्थल र सैन्य सामग्री व्यवस्थापनसँग सम्बन्धित पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ।
सेन्टकमका अनुसार हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक पानीजहाजलाई धम्की दिन सक्ने इरानको क्षमता थप कमजोर बनाउने उद्देश्यले आक्रमण गरिएको हो। अमेरिकाले पछिल्ला तीन महिनामा इरानले उक्त अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावत गर्ने ३० भन्दा बढी व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोपसमेत लगाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले चाबहार, कोनारक, तब्रिजसहित बुशेहर, पूर्वी अजरबैजान, हमादान, होर्मोजगान, खुजेस्तान तथा सिस्तान–बलुचिस्तान प्रान्तका विभिन्न क्षेत्रमा विस्फोट र हवाई आक्रमण भएको जनाएका छन्। आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण तत्काल सार्वजनिक भएको छैन।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक गतिविधिसँग सम्बन्धित रहेको आशंका गरिएको ‘पिकाक्स माउन्टेन’ क्षेत्रलाई अमेरिकाले चाँडै र शक्तिशाली रूपमा निशाना बनाउन सक्ने चेतावनी दिएका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले उक्त क्षेत्रमा अमेरिकाले निकट भविष्यमै भीषण आक्रमण गर्न सक्ने बताएका हुन्। पिकाक्स माउन्टेन इरानको प्रमुख युरेनियम प्रशोधन केन्द्र नतान्जनजिकै रहेको गहिरो भूमिगत तथा अत्यन्त सुरक्षित संरचना मानिन्छ।
यद्यपि उक्त संरचनामा हाल आणविक सामग्री राखिएको वा गतिविधि भइरहेको विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन। ट्रम्पले पनि त्यहाँ सेन्ट्रिफ्युज उपकरण राखिएको हुन सक्ने आशंका गरिएको भए पनि त्यसको ठोस अभिलेख अमेरिकासँग नरहेको स्वीकार गरेका छन्।
इरानी सैन्य नेतृत्वले आणविक वा अन्य संवेदनशील संरचनामाथि कुनै पनि आक्रमणलाई गम्भीर सैन्य उक्साहट मानिने चेतावनी दिएको छ। निरन्तर आक्रमणले इरान र अमेरिकाबीचको संघर्षलाई थप विस्तार गर्दै सम्पूर्ण मध्यपूर्वलाई व्यापक युद्धतर्फ धकेल्न सक्ने चिन्ता बढेको छ।
पछिल्लो सैन्य तनावले विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास आपूर्ति मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षा र व्यावसायिक ढुवानीमा समेत गम्भीर प्रभाव पारेको छ। युद्ध चर्किँदै जाँदा कूटनीतिक माध्यमबाट नयाँ युद्धविराम गराउने प्रयास भए पनि तत्काल ठोस सहमति जुट्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस