शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार र आइतबार दिइने दुईदिने बिदाले दीर्घकालमा सकारात्मक नतिजा दिने बताएका छन्।
शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले दुईदिने बिदाको निर्णय तत्कालका लागि अलोकप्रिय देखिए पनि यसले मानसिक स्वास्थ्य सुधार र उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने बताए।
“शनिबार र आइतबार बिदा दिने विषय अहिलेका लागि अलोकप्रिय निर्णय हो भन्ने थाहा छ,” उनले भने, “तर दीर्घकालमा यसले मानसिक स्वास्थ्यसम्बन्धी समस्या कम गर्नेदेखि उत्पादकत्व बढाउनसम्म सहयोग गर्छ।”
उनले बालबालिकाको हेरचाह र उनीहरूसँग समय बिताउन अभिभावकलाई पनि सातामा दुई दिन बिदा आवश्यक रहेको बताए।
“अभिभावक काममा जानुहुन्छ। यस्तो अवस्थामा छोराछोरीको हेरचाह गर्ने व्यक्ति नहुन सक्छ,” उनले भने, “त्यसैले अभिभावकले पनि दुई दिन बिदा पाउनुपर्छ। सरकारी क्षेत्रमा दुईदिने बिदा छ। निजी क्षेत्रले पनि यसलाई कार्यान्वयन गर्ने विश्वास लिएको छु।”
सरकारी तथा निजी दुवै क्षेत्रमा दुईदिने बिदा लागू भए त्यसले समग्र समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री पोखरेलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस