सुदूरपश्चिमको कला–संस्कृतिलाई केन्द्रमा राख्दै निर्माण हुन लागेको थारु भाषाको चलचित्र ‘दिल चुराके लैगिलो मोर’ को शुभ मुहूर्त सम्पन्न भएको छ। ए.एस. उडान फिल्म प्रोडक्सन, धनगढीको व्यानरमा निर्माण हुने उक्त चलचित्रको मुहूर्त शुक्रबार धनगढीमा आयोजना गरिएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशीले दीप प्रज्वलन तथा चलचित्रको व्यानर वाचन गर्दै औपचारिक रूपमा मुहूर्त गरेका थिए। धनगढीस्थित बुद्ध मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा कलाकार, प्राविधिक तथा पुराना चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा तथा निर्देशन राजकुमार श्रेष्ठले गर्ने भएका छन्। चलचित्र निर्माता अम्बिका प्रसाद आचार्य रहेका छन्। यसमा गीत–संगीत उमेश मुस्कान, द्वन्द्व निर्देशन आर.के. श्री, छायांकन शिशिर चौधरी र प्रकाश नागरी, नृत्य निर्देशन सियोन श्रेष्ठ, संवाद लेखन छविलाल कोपिला, श्रृंगार रवि के.सी. तथा सहायक निर्देशन मनोज थारुले सम्हाल्नेछन्। पोस्ट–प्रोडक्सन कार्य अम्बिका प्रसाद आचार्यले नै गर्नेछन् भने संगीत व्यवस्थापन हमार म्युजिक पहुरा, दाङले गर्ने जनाइएको छ।
चलचित्रमा मुकुन्द जी.सी., स्वस्तिका चौधरी, रामशरण महतो, एन.आर. रिमाल र अम्बिका आचार्य मुख्य भूमिकामा देखिनेछन्। ग्रेसी श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको छायांकन नयाँ वर्ष २०८३ को सुरुवाती साताभित्रै सुरु गर्ने निर्माण पक्षले जनाएको छ।
मुहूर्त कार्यक्रममा बोल्दै सु.प. कला प्रतिष्ठानका पूर्व अध्यक्ष राजकुमार जोशीले सुदूरपश्चिममा केही समयदेखि चलचित्र निर्माणमा सुस्तता देखिए पनि पछिल्लो समय पुनः सक्रियता बढ्न थालेको बताए। उनले विगतमा केही चलचित्रको मुहूर्त मात्र हुने तर निर्माण सम्पन्न नहुने प्रवृत्तिको स्मरण गराउँदै यस चलचित्रलाई भने पूर्ण रूपमा निर्माण गरी प्रदर्शनसम्म पुर्याउन सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि डा. टि.एन. जोशीले सुदूरपश्चिममा यसअघि ‘अर्पण’, ‘डोटेली चलचित्र’, ‘धन्य मायाजाल’, ‘गौरी’, ‘सौराई’ लगायतका चलचित्र निर्माण भइसकेको उल्लेख गर्दै नयाँ चलचित्रले पनि स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले चलचित्र निर्माणका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत जनाए।
चलचित्र ‘दिल चुराके लैगिलो मोर’ ले सुदूरपश्चिमको मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस