पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा एमालेले शनिबार देशभर प्रदर्शन गरेको थियो।
एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज घटनालाई ध्यानमा राख्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रहरीले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कुलर जारी गरेको जनाएको छ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट हाई अलर्ट जारी भएपछि आइतबार बिहानदेखि नै प्रहरी उच्च सतर्कतामा रहेकाले राजनीतिक गतिविधि, सम्भावित हिंसात्मक घटना तथा अन्य असहज गतिविधि नियाल्ने काम सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) गोविन्द थपलियाले बताए।
उनका अनुसार, शनिबारदेखि ८ वटै जिल्लाका प्रहरी प्रमुख (एसपी)हरुसँग समन्वय गरी प्रहरी परिचालन र व्यवस्थापनको कार्य भइरहेको छ। हाई अलर्टमा मधेसका आठवटै जिल्लामा सीमा क्षेत्र, जिल्ला सदरमुकाम र सम्भावित प्रदर्शन स्थलहरूमा विशेष निगरानी बढाइएको छ।
प्रहरीले राजनीतिक दलका गतिविधि, कार्यकर्ता भेला, प्रदर्शन र सम्भावित हिंसात्मक घटनाबारे सूचनासँगै विश्लेषण गर्न थालेको छ। खुला सीमा नाका, यातायात मार्ग र भीडभाड हुने स्थानमा चेकपोस्ट र गस्ती बढाइएको छ। डीआईजी थपलियाका अनुसार, कानुन व्यवस्था कायम राख्न र अशान्ति हुन नदिन यो उच्च सतर्कता जारी गरिएको हो।
प्रतिक्रिया दिनुहोस